भिडियो कल

इजरायलबाट छोरी नम्रतासित आमा प्रकृति भिडियो कलमा बोलिन्, “साहुले तिम्रो लागि दिएको दश लाख मागिरहेको छ, के गर्ने होला? भेडा गोठालो गरेर, मकै गोडेर मात्र भएन भनेर तिमीलाई विदेश पठाएँ। दश लाखको ब्याज बढिरहेको छ।”

नम्रतालाई साह्रै चिन्ता पर्‍यो। भनिन्, “आमा, नआत्तिनुस्! म पैसा पठाइदिन्छु। ९ महिनापछि १० लाख नै पठाइदिन्छु।”

आमा ढुक्क भएर आनन्दको श्वास फेरिन्।

अर्को दिन भिडियो कल भयो।

“गालामा थोरै कालोपोतो देखियो नि, छोरी?”

“अँ, आमा, गर्मीले साह्रै सताएको छ। यहाँ पनि खेतीकै काम गर्नुपर्छ। दुःख उस्तै हो! जहाँ गए नि दुःख गर्ने नै हो। के गर्ने, आमा! विदेशको बासी स्याउभन्दा स्वदेशी खाजा नै मीठो र स्वादिलो रहेछ!”

अर्को दिन भिडियो कल आयो।

“मोटी न मोटी भएकी छस् त तँ! भिडियो कलमा कहिल्यै पूर्ण शरीर देखाउँदिनस् त!”

“आमा, मोटी भएकी छु। मेरो अनुहार हेरेर भएन।”

नम्रताले भनिन्, “त्यो साहुलाई २–४ महिना कुर्नू भन्नुस्। म मरीमरी काम गरिरहेकी छु। केही महिनापछि मोटो रकम पठाउँछु, त्यो पैसा साहुलाई तिरिदिनुस्।”

आमा खुसी भइन्। लोग्ने कोरोनाले नमरेको भए यो कुरा सुन्दा कति खुसी हुन्थे होलान्!

“इजरायलकी साहुनीले १० लाख दिइन्। निःसन्तान साहुनीलाई खुसी पारेकी छु।”

तुरुन्तै भिडियो कल गरेर छोरीले पैसा पठाइन्। उनले नेपाली छोरी सीता जन्माएर उपहार दिएकी फोटो पनि देखाइन्।

“आमा, पैसा भन्ने कुरा अक्करमा हुँदो रहेछ!”

“बर्बाद भयो, छोरी!”

आमाले दुवै हातले टाउको समात्दै आँखाबाट आँसु खसालिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *