७५ वर्ष पुगेको अवसरमा प्रलेसले  हीरक वर्ष मनाउने

काठमाडौँ । प्रगतिशील लेखकहरूको साझा संस्था प्रगतिशील लेखक सङ्घ, नेपाल (प्रलेस) ले आफ्नो स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा हीरक वर्ष मनाउने भएको छ। हीरक वर्षको अवसरमा पुस्तक विमोचन, पुरस्कार वितरण, वरिष्ठ स्रष्टा अभिनन्दन  तथा विशेष प्रकाशनलगायत वर्षभर विविध साहित्यिक  कार्यक्रम सञ्चालन गरिने भएको छ।

सङ्घको भदौ २३ गते बसेको पदाधिकारी बैठकले हीरक वर्ष मनाउने निर्णय गरेको हो। सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले सिर्जना डबलीलाई उक्त जानकारी दिनुभएको हो।

वि.सं. २००९ साल असोज ५ गते वीरगन्जमा स्थापना भएको प्रगतिशील लेखक सङ्घ, नेपालका संस्थापक अध्यक्ष श्यामप्रसाद हुनुहुन्छ । मार्क्सवादी तथा प्रगतिशील विचार र साहित्यको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ स्थापना भएको सङ्घ नेपाली प्रगतिशील लेखक तथा साहित्यकारहरूको साझा सांस्कृतिक मोर्चाका रूपमा क्रियाशील रहँदै आएको छ।

नेपालका वामपन्थी राजनीतिक दलहरू विभिन्न समयमा विभाजन र पुनर्गठनबाट गुज्रिए पनि प्रलेसले सामन्तवाद र साम्राज्यवाद विरोधी सांस्कृतिक आन्दोलनमा निरन्तर भूमिका निर्वाह गर्दै आएको छ।

असोज ५ बाट हीरक वर्षको सुरुआत

सङ्घले वि.सं. २०८३ साल असोज ५ गते आफ्नो स्थापना दिवस मनाउँदै हीरक वर्षको औपचारिक सुरुआत गर्ने भएको छ। सोही दिन हीरक वर्षभर सञ्चालन गरिने विविध कार्यक्रमको घोषणा गरिने सङ्घका महासचिव डा. पारस ढकालले जानकारी दिनुभयो।

स्थापना दिवसकै अवसरमा सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीको ऐतिहासिक उपन्यास ‘सन्त ज्ञानदिल दास’ तथा सङ्घका उपाध्यक्ष समीर सिंहको कवितासङ्ग्रह ‘अनन्त यात्रामा’ समेत विमोचन गरिने कार्यक्रम रहेको छ।

मङ्सिर ६ मा पुरस्कार वितरण

हीरक वर्षअन्तर्गत आगामी मङ्सिर ६ गते काठमाडौँमा सङ्घका नियमित पुरस्कारहरू प्रदान गरिने भएका छन्। सो अवसरमा श्यामप्रसाद स्मृति पुरस्कार, प्रलेस प्रतिभा पुरस्कार, प्रलेस बालसाहित्य पुरस्कार र प्रलेस युवा पुरस्कार वितरण गरिनेछ।

यसै वर्षदेखि थप गरिएको प्रलेस शक्ति लम्साल स्मृति पुरस्कार पनि सोही दिन प्रदान गरिने सङ्घले जनाएको छ। साथै, प्रगतिशील सांस्कृतिक आन्दोलनका व्यक्तित्व शक्ति लम्सालको स्मृतिमा ‘शक्ति लम्साल स्मृतिग्रन्थ’ समेत प्रकाशित गरिने भएको छ।

देशभरका वरिष्ठ स्रष्टालाई अभिनन्दन 

हीरक वर्षको विशेष अवसर पारेर देशभरिका ७५ वर्षमाथिका प्रगतिशील स्रष्टाहरूलाई अभिनन्दन  गर्ने कार्यक्रम पनि तय गरिएको छ। प्रदेश स्तरमा समेत प्रगतिशील साहित्यिक आन्दोलनमा योगदान पुर्‍याएका स्रष्टाहरूलाई अभिनन्दन  गरिनेछ।

हीरक वर्षको अवधिभर देशका विभिन्न स्थानमा साहित्यिक  गतिविधि सञ्चालन गरिने र वर्षको अन्त्यमा ‘प्रलेस हीरक विशेषाङ्क’ प्रकाशित गरिने सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले सिर्जना डबलीलाई जानकारी दिनुभयो।

सात दशकभन्दा लामो प्रगतिशील साहित्यिक आन्दोलनको इतिहास बोकेको प्रगतिशील लेखक सङ्घ, नेपालले आफ्नो हीरक वर्षलाई विगतको ऐतिहासिक योगदानको समीक्षा, वर्तमान पुस्तासँग संवाद र भावी सांस्कृतिक आन्दोलनको दिशा तय गर्ने अवसरका रूपमा मनाउने तयारी गरेको छ।

-समीर सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *