१२ मई : एउटा नाटकको पर्दापछाडिको कथा

 

बुवा मोहनविक्रम सिंहको पुस्तकालयमा बसेर हामी ‘कमरेड जलजला’ उपन्यासको समीक्षा कार्यक्रम गर्ने विषयमा छलफल गरिरहेका थियौँ। त्यस दिनको बैठकमा साहित्यकार डा. हरि सिलवाल, क. घनश्याम न्यौपाने र म सहभागी थियौँ। त्यही छलफलका क्रममा बुवाले आफूले लेख्नुभएको नाटक ‘१२ मई’ प्रस्तुत गर्ने विचार राख्नुभयो।

मेरो मनमा भने अर्कै योजना थियो। मैले ‘गङ्गा–कावेरी एक्सप्रेस’लाई कलात्मक ढङ्गले एकाङ्की नाटकका रूपमा प्रस्तुत गर्ने सुझाव राखेको थिएँ। तर बुवा ‘१२ मई’प्रति नै दृढ हुनुहुन्थ्यो। उहाँले नाटकलाई मञ्चमा ल्याउने आफ्नो विचार स्पष्ट रूपमा राख्नुभयो। अन्ततः हामी ‘१२ मई’ नै प्रस्तुत गर्ने निष्कर्षमा पुग्यौँ।  त्यही एउटा निर्णयबाट सुरु भयो—‘१२ मई’लाई मञ्चमा उतार्ने यात्रा।

नाटक मञ्चसम्म पुग्ने बाटो

साहित्यकार डा. हरि सिलवालको नेपाल नाट्यशालासँग सम्पर्क रहेछ। उहाँकै माध्यमबाट नेपाल नाट्यशालाको निर्देशक सौभाग्य सिंह राई र विभिन्न नाटकमा निर्देशन गर्दै आउनु भएका प्रह्लाद खरेलसँग सम्पर्क भयो। उहाँहरूसँग नाटक मञ्चनका विषयमा विभिन्न चरणमा छलफल र वार्ताहरू भए।

नाटक मञ्चन गर्ने कुरा सजिलो थिएन। अझ राजनीतिक र दार्शनिक विषयवस्तुलाई कलात्मक ढङ्गले मञ्चमा प्रस्तुत गर्ने चुनौती आफ्नै ठाउँमा थियो। नेपाल नाट्यशालाले समसामयिक विषयमा आधारित नाटकहरू प्रस्तुत गर्दै आए पनि यस खालको राजनीतिक तथा दार्शनिक विषयवस्तुलाई नाट्य रूपमा प्रस्तुत गर्ने अभ्यास त्यति धेरै थिएन।

तर चुनौतीका बाबजुद उहाँहरू नाटक मञ्चन गर्न तयार हुनुभयो। पारिश्रमिकको विषयमा पनि उहाँहरूले ठुलो अपेक्षा राख्नुभएन। सीमित स्रोतसाधनका बिच नाटकलाई मञ्चमा उतार्ने प्रतिबद्धता देखाउनुभयो।  त्यसपछि सुरु भयो निरन्तर अभ्यास, छलफल र सुधारको प्रक्रिया।

हामी पटक–पटक नाट्यशाला पुग्थ्यौँ। अभ्यास हेर्थ्यौँ। कतिपय दृश्य, संवाद र प्रस्तुतीकरणमा सुधार गर्नुपर्ने विषयमा सुझाव दिन्थ्यौँ। बुवा पनि पटक–पटक नाट्यशाला पुग्नुहुन्थ्यो। उहाँले आफूले लेखेको नाटकलाई मञ्चमा कसरी प्रस्तुत गरिएको छ भन्ने विषयमा निकै चासो राख्नुहुन्थ्यो।  बुवाको त्यो सक्रियता आफैँमा कलाकारहरूका लागि उत्साहको विषय बनिरहेको थियो।

लेखक स्वयं अभ्यास स्थलमा पुगेर कलाकारहरूसँग छलफल गरिरहँदा कलाकारहरूमा पनि नाटकप्रतिको जिम्मेवारी र उत्साह झनै बढ्दै गएको महसुस हुन्थ्यो। लेखक र कलाकार बिचको त्यो संवादले नाटकलाई क्रमशः नयाँ रूप दिँदै गयो।

पर्दापछाडिको अर्को मोर्चा

नाटक तयार पार्नु एउटा पक्ष थियो भने त्यसलाई व्यवस्थित रूपमा मञ्चन गर्नु अर्को ठुलो चुनौती।  मूल आयोजक रक्तिम सांस्कृतिक अभियानले नाटकलाई सफल बनाउन विभिन्न चरणमा बैठकहरू गरिरह्यो। व्यवस्थापनका लागि क. आनन्द शर्माको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरियो। आर्थिक व्यवस्थापनका लागि क. दुर्गा पौडेल र क. मनोज भट्टको संयोजकत्वमा अलग–अलग समूहहरू बनाइए।  त्यसका अतिरिक्त स–साना आर्थिक सङ्कलन समूहहरू पनि निर्माण गरिए।

नाटक मञ्चनका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु आफैँमा कठिन काम थियो। तर साथीहरू विभिन्न ठाउँमा परिचालित भए। आफ्नो क्षमता र पहुँचअनुसार सबैले योगदान गर्न थाले। आर्थिक सङ्कलनमा क. दुर्गा पौडेलको समूह विशेष रूपमा सक्रिय रह्यो।   नाटक मञ्चमा देखिने केही घण्टाभन्दा बाहिर त्यसका लागि धेरै मानिसको लामो समयको श्रम, दौडधुप र प्रतिबद्धता जोडिएको थियो।
बाढी पहिरोको पीडा र नाटक गर्ने निर्णय

नाटक प्रदर्शनको मिति नजिकिँदै गर्दा देशका विभिन्न ठाउँमा प्राकृतिक विपत्तिका समाचारहरू आउन थाले। विशेषतः रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढी पहिरोले ठुलो क्षति पुर्‍याएको थियो।  त्यस परिस्थितिमा एउटा प्रश्न उठ्यो—‘१२ मई’ नाटक प्रदर्शन गर्ने कि स्थगित गर्ने?

स्वाभाविक रूपमा हामीबिच पनि केही अन्यौलता पैदा भयो। यस्तो दुःखद परिस्थितिमा मनोरञ्जनात्मक कार्यक्रम गर्नु उचित हुन्छ कि हुँदैन भन्ने प्रश्न उठ्नु अस्वाभाविक थिएन।  तर हामीले कार्यक्रमको प्रकृति र उद्देश्यलाई फेरि सम्झियौँ।

हामी कुनै नाचगान वा भोजभतेर गर्न गइरहेका थिएनौँ। ‘१२ मई’ आफैँमा कठिन परिस्थितिबाट गुज्रँदै अघि बढ्ने, सङ्घर्ष गर्ने र चुनौतीको सामना गर्ने सन्देश बोकेको नाटक थियो।  त्यसैले हामीले नाटक स्थगित गर्नु आवश्यक छैन भन्ने निष्कर्ष निकाल्यौँ।

बरु विपत्तिमा परेका मानिसहरूप्रतिको हाम्रो जिम्मेवारीलाई नाटकसँग जोड्ने निर्णय गर्‍यौँ। नाटकबाट प्राप्त आम्दानीको ५० प्रतिशत रकम बाढी पहिरो पीडितको राहत तथा सहयोगका लागि प्रदान गर्ने निर्णय गरियो।  त्यो निर्णयले नाटकको उद्देश्यलाई अझ फराकिलो बनाइदियो।

‘हल भरिएला त?’

अन्ततः आयो—भाद्र २१।

कार्यक्रमको दिन हाम्रो मनमा एउटा अर्को प्रश्न थियो—करिब तेह्र सय दर्शक क्षमताको सम–प्रेक्षालय हल भरिएला त?  नाटकको विषय राजनीतिक र दार्शनिक थियो। आजको समयमा यस्तो विषयमा आधारित नाटक हेर्न दर्शकहरू कति आउलान् भन्ने स्वाभाविक चिन्ता थियो।

समय घर्किँदै थियो।  दिउँसो २ बज्ने समय नजिकिँदै जाँदा दर्शकहरू आउन थाले। बिस्तारै हलका कुर्सीहरू भरिँदै गए। राजनीतिक नेता, लेखक, साहित्यकार, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति बढ्दै गयो।  २ बज्दासम्म आइपुग्दा हल लगभग पूर्ण रूपमा भरिइसकेको थियो।

हामीले आशङ्का गरेको थिएँ—हल खाली पो हुने हो कि!  तर त्यो आशङ्का गलत साबित भयो।  सम–प्रेक्षालय खचाखच भरियो।

‘१२ मई’को पर्दा खुल्यो।  त्यसपछि केही घण्टाका लागि हामी सबै नाटकको संसारभित्र प्रवेश गर्‍यौँ।

विचार र कलाको सङ्गम

नाटक सकिएपछि दर्शकहरूको प्रतिक्रिया सुन्ने अवसर मिल्यो। हामीले विभिन्न व्यक्तिहरूसँग नाटकबारे कुराकानी गर्‍यौँ।  प्रतिक्रियाहरू उत्साहजनक थिए।

धेरैको एउटै प्रकारको टिप्पणी थियो—‘१२ मई’मा विचार र कलाको राम्रो संयोजन भएको छ।

राजनीतिक तथा दार्शनिक विषयलाई नाटकजस्तो कलात्मक माध्यमबाट प्रस्तुत गर्नु आफैँमा चुनौतीपूर्ण काम हो। तर कलाकारहरूको मेहनत, निर्देशकहरूको सिर्जनात्मकता र लेखकको विचारलाई मञ्चमा उतार्ने प्रयासले नाटकलाई प्रभावकारी बनाउन सफल भएको अनुभूति भयो।  नाटक हेरेर बाहिर निस्कँदै गरेका दर्शकहरूको अनुहारमा देखिएको सन्तुष्टि र उनीहरूले व्यक्त गरेका प्रतिक्रियाले हाम्रो लामो तयारीको थकानलाई बिर्साइदिएको थियो।

एउटा सफल प्रयोगको सम्झना

पछाडि फर्केर हेर्दा लाग्छ—‘१२ मई’ एउटा नाटक मात्र थिएन।  यो एउटा सामूहिक प्रयास थियो।

पुस्तकालयमा भएको एउटा छलफलबाट सुरु भएको विचार नाट्यशालाको अभ्यास कक्ष हुँदै अन्ततः तेह्र सय दर्शक क्षमताको सम–प्रेक्षालयसम्म पुग्यो। त्यस यात्रामा लेखक थिए, निर्देशक थिए, कलाकार थिए, व्यवस्थापनमा खटिएका साथीहरू थिए, आर्थिक सङ्कलनमा दौडिएका साथीहरू थिए र अन्ततः नाटक हेर्न हलसम्म आइपुगेका सयौँ दर्शक थिए।  सबैको सामूहिक प्रयत्नले ‘१२ मई’लाई मञ्चमा जीवन दियो।

बुवा मोहनविक्रम सिंहले आफूले लेखेको नाटकलाई मञ्चमा जीवन्त रूपमा प्रस्तुत भएको देख्नुभयो। कलाकारहरूले राजनीतिक र दार्शनिक विषयवस्तुलाई कलाको माध्यमबाट दर्शकमाझ पुर्‍याउने नयाँ अनुभव प्राप्त गरे। आयोजकका रूपमा हामीले एउटा महत्त्वपूर्ण सांस्कृतिक प्रयोग सम्पन्न भएको महसुस गर्‍यौँ।

अझ महत्त्वपूर्ण कुरा, विपत्तिको समयमा पनि हामीले आफ्नो सांस्कृतिक कर्मलाई निरन्तरता दिन सक्यौँ र त्यसबाट प्राप्त आम्दानीको केही हिस्सा विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने प्रतिबद्धता व्यक्त गर्‍यौँ।

यस अर्थमा ‘१२ मई’को मञ्चन केवल एउटा नाटकको प्रदर्शन थिएन; यो विचार, कला, प्रतिबद्धता र सामूहिक प्रयत्नको एउटा सुन्दर संयोजन थियो। त्यसैले आज पनि ‘१२ मई’ सम्झँदा आँखाअघि सबैभन्दा पहिले बुवाको पुस्तकालयमा भएको त्यो बैठक आउँछ—जहाँ एउटा नाटक मञ्चन गर्ने विचार जन्मिएको थियो।

त्यसपछि सम्झना आउँछ—नाट्यशालामा चलेका ती लामालामा अभ्यास, पटक–पटकका छलफल, व्यवस्थापनका बैठक, आर्थिक सङ्कलनका लागि साथीहरूले गरेका दौडधुप, विपत्तिका बिच नाटक गर्ने कि नगर्ने भन्ने अन्योल र अन्ततः दर्शकहरूले भरिएको सम–प्रेक्षालय।

यी सबै सम्झनाहरू जोडिँदा लाग्छ—

‘१२ मई’को वास्तविक कथा मञ्चमा देखिएको नाटकभन्दा धेरै ठुलो छ। त्यो त पर्दापछाडि सयौँ मानिसले गरेको श्रम, विश्वास र सामूहिक प्रतिबद्धताको कथा पनि हो।

‘१२ मई’ नाटकका लेखक क. मोहनविक्रम सिंह, आयोजक रक्तिम सांस्कृतिक अभियान तथा नाटकलाई मञ्चमा जीवन्त बनाउने नेपाल नाट्यशालालाई हार्दिक बधाई तथा धन्यवाद।

साथै, नाटकलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सम्पूर्ण कलाकार, निर्देशक, प्राविधिक, व्यवस्थापन टोली, आर्थिक सङ्कलनमा खटिनुभएका साथीहरू, राजनीतिकर्मी, लेखक, साहित्यकार, कलाकर्मी तथा दर्शकहरूप्रति हार्दिक आभार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *