साहित्य र सिर्जनाको क्षेत्रमा नवयुवाहरू के चाहन्छन् ?

साहित्य र सिर्जनाको क्षेत्रमा नवयुवाहरूको भूमिका, अपेक्षा र सम्भावनाबारे केन्द्रित हुँदै ‘सिर्जना डबली’ले श्रावण २३ गते महत्त्वपूर्ण छलफल कार्यक्रम सम्पन्न गरेको छ। १७ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई केन्द्रमा राखिएको छलफलमा सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकृति र विसङ्गतिका विरुद्ध नवयुवाहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा विचार–विमर्श गरिएको थियो।
त्यसैगरी साहित्य र सिर्जनाको माध्यमबाट समाजमा विद्यमान विकृति र विसङ्गतिका विरुद्ध कसरी आवाज उठाउने, युवाहरूलाई सिर्जनात्मक रूपमा कसरी संगठित गर्ने तथा उनीहरूको प्रतिभालाई सही दिशातर्फ कसरी अघि बढाउने भन्ने विषय पनि छलफलको केन्द्रमा रहेको थियो।
कार्यक्रममा सिक्किमबाट सहभागी अर्चना शर्माले नवयुवालाई अगाडि बढाउनु भनेको केवल अवसर प्रदान गर्नु मात्र नभई उनीहरूलाई सही दिशा र उद्देश्य देखाउनु पनि भएको बताइन्। उनका अनुसार युवा देशका ऊर्जा भएकाले उनीहरूलाई शिक्षा, संस्कार, रोजगारीसँगै सिर्जनात्मक कामको अवसर उपलब्ध गराउन आवश्यक छ। असफलताबाट डराउनुको सट्टा त्यसबाट सिकेर निरन्तर अघि बढ्ने वातावरण निर्माण गर्नुपर्ने उनको धारणा थियो।
शर्माले परिवार, शिक्षक र समाजले युवाको प्रतिभा पहिचान गरी उनीहरूलाई हौसला र उचित मार्गदर्शन दिनुपर्नेमा जोड दिइन्। आजका युवालाई सही ज्ञान, सकारात्मक सोच र मेहनतको बाटो देखाउन सके उनीहरूले आफ्नो भविष्यसँगै समाज र राष्ट्रको भविष्यसमेत उज्ज्वल बनाउन सक्ने उनको विश्वास थियो।
आफ्नो साहित्यिक यात्राबारे अनुभव सुनाउँदै शर्माले बाल्यकालदेखि नै आफ्नो भाषा, संस्कृति र संस्कारप्रति गहिरो प्रेम रहेको बताइन्। अन्य भाषालाई पनि सम्मान गर्ने तर आफ्नो भाषालाई विशेष महत्त्व दिने गरेको उनको भनाइ थियो। अरूले कविता वाचन गरेको सुन्दा र बुवाले कविता तथा पुस्तक पढेको देख्दा आफूमा पनि कविता लेख्ने रुचि जागेको उनले सुनाइन्।
विद्यालयमा हुने विभिन्न कार्यक्रम तथा गतिविधिबाट प्रेरित भएर कक्षा ७ मा पहिलोपटक कविता लेख्ने प्रयास गरेको उनले बताइन्। त्यसबेला शिक्षकहरू प्रेरणादायी र मार्गदर्शक रहेको तथा ‘नानी, कलमलाई निरन्तरता दिनू’ भन्दै हौसला दिने गरेको स्मरण गरिन्। आफूले लेखेका सामग्री शिक्षकलाई संशोधनका लागि देखाउने गरेको बताउँदै उनले अहिले निबन्ध, कथा, लेख र मुक्तक लेख्न सिक्दै साहित्यिक यात्रामा अघि बढिरहेको बताइन्।
विज्ञान विषयकी विद्यार्थी भए पनि आफ्नै भाषा आफूलाई अत्यन्त प्रिय रहेको बताउँदै शर्माले भाषा नै भावना, सपना र आत्माको साँचो आवाज भएको धारणा व्यक्त गरिन्। बुवाले पढेका पुस्तकहरू पढ्ने र उहाँबाट दैनिक कथा सुन्ने बानीले चार वर्षअघिदेखि नै आफ्नो भाषाप्रतिको प्रेम अझ गहिरिएको उनले बताइन्।
त्यस्तै रुकुम पश्चिमकी समष्टि बुढाले नवयुवा सिर्जना डबलीको छलफल कार्यक्रमले युवाहरूलाई आफ्ना विचार, सुझाव र सिर्जनात्मक धारणा राख्ने अवसर दिएको बताइन्। छलफलमा उत्साहपूर्वक सहभागी भएका सम्पूर्ण युवाहरूको सहभागिता र रचनात्मक सुझावले आगामी यात्राका लागि थप ऊर्जा र प्रेरणा प्रदान गरेको उनको भनाइ थियो। आगामी दिनमा पनि युवाहरूको निरन्तर साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा रहेको उनले बताइन्।
कार्यक्रममा रोल्पाका नवयुवा मिलन सिंह ठकुरीले घर–परिवारमा रहेका युवा पुस्तालाई लेखनतर्फ प्रेरित गर्नुपर्ने बताए। लेखनका लागि केवल व्यक्तिगत रुचि पर्याप्त नहुने भन्दै प्रशिक्षण, सिकाइ र सिर्जनात्मक वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा बाँकेकी ममता रावत, नवलपरासीकी निशा गौतम र सगर सुवेदी तथा रुकुम पश्चिमकी सीता मगरले पनि साहित्य, सिर्जना र युवाको भूमिकासँग सम्बन्धित आफ्ना महत्त्वपूर्ण धारणा राखेका थिए।
समग्रमा, नवयुवाहरू केवल अवसरको खोजीमा छैनन्; उनीहरूलाई आफ्नो प्रतिभा अभिव्यक्त गर्ने, सिक्ने, सिर्जना गर्ने र समाजका विकृति–विसङ्गतिविरुद्ध अर्थपूर्ण हस्तक्षेप गर्ने वातावरणको आवश्यकता छ भन्ने सन्देश छलफलले दिएको छ। साहित्य र सिर्जनालाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सामाजिक रूपान्तरणको साधनका रूपमा विकास गर्न सके नवयुवाहरूको ऊर्जा सकारात्मक परिवर्तनतर्फ परिचालन गर्न सकिने देखिन्छ। यसका लागि परिवार, विद्यालय, साहित्यिक संस्था र समाजले युवाहरूलाई अवसरसँगै मार्गदर्शन र सिर्जनात्मक मञ्च उपलब्ध गराउनु आवश्यक छ।
* समीर सिंह


