‘१२ मई’को भव्य प्रदर्शनको तयारी तीव्र, को–को छन् कलाकार ?

काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित चर्चित नाटक ‘१२ मई’ को भव्य प्रदर्शनको तयारी तीव्र पारिएको छ । आगामी भाद्र २१ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको सम–प्रेक्षालयमा दिउँसो २ बजेदेखि प्रदर्शन हुने नाटकलाई लिएर रङ्गकर्मी तथा दर्शकमाझ उत्सुकता बढेको छ ।
रक्तिम सांस्कृतिक अभियानको आयोजनामा प्रस्तुत हुन लागेको ‘१२ मई’ लाई नेपाल नाट्य घरका कलाकारहरूले व्यापक रिहर्सलमार्फत अन्तिम तयारी गरिरहेका छन् । नाटकको निर्देशन प्रल्हाद खरेल र सौभाग्य सिंह राईले गरिरहेका छन् ।
नाटकमा हर्केको मुख्य भूमिकामा नरेन्द्रप्रसाद जोशी र उजेलीको भूमिकामा कविता खड्काले अभिनय गरेका छन् । त्यस्तै विष्णुमणि साहुको भूमिकामा सालिक भण्डारी, पदमबहादुरको भूमिकामा जेबी डिसी, जगत् र जोगीको भूमिकामा रामबाबु रेग्मी, भारतीय पुलिसको भूमिकामा पुष्पराज अवस्थी, सुनिताको भूमिकामा दीपमाला परियार, श्यामबहादुरको भूमिकामा निर्मल साउँद, कालेको भूमिकामा आशिष् केसी, सुरेन्द्रको भूमिकामा विपुल थापामगर, वीरबहादुरको भूमिकामा रोदन खड्का र कलाकारको भूमिकामा खुसी तामाङले अभिनय गरिरहेका छन् ।
‘१२ मई’मा को–को छन् कलाकार?
- हर्के — नरेन्द्रप्रसाद जोशी
- उजेली — कविता खड्का
- विष्णुमणि साहु — सालिक भण्डारी
- पदमबहादुर — जेबी डिसी
- जगत् र जोगी — रामबाबु रेग्मी
- भारतीय पुलिस — पुष्पराज अवस्थी
- सुनिता — दीपमाला परियार
- श्यामबहादुर — निर्मल साउँद
- काले — आशिष् केसी
- सुरेन्द्र — विपुल थापामगर
- वीरबहादुर — रोदन खड्का
- कलाकार — खुसी तामाङ
मोहनविक्रम सिंहको वैचारिक तथा प्रगतिशील चेतनामा आधारित ‘१२ मई’ले सामाजिक यथार्थ, सङ्घर्ष र परिवर्तनका सवाललाई रङ्गमञ्चमार्फत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । त्यसैले पनि नाटकको प्रदर्शनलाई प्रगतिशील सांस्कृतिक आन्दोलनको क्षेत्रमा महत्त्वपूर्ण प्रस्तुतिका रूपमा हेरिएको छ ।
लामो समयदेखि साहित्य, कला र संस्कृतिमार्फत सामाजिक रूपान्तरणका पक्षमा आवाज उठाउँदै आएको रक्तिम सांस्कृतिक अभियानको आयोजनामा हुन लागेको यो प्रस्तुति नेपाली रङ्गमञ्चमा वैचारिक र प्रगतिशील नाटकको उपस्थितिलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
नाटकको रिहर्सल तीव्र भइरहेका बेला कलाकारहरूको सामूहिक मेहनत, निर्देशकहरूको परिकल्पना र मोहनविक्रम सिंहको वैचारिक लेखनको संयोजनले ‘१२ मई’लाई दर्शकका लागि विशेष प्रतीक्षाको प्रस्तुतिमा परिणत गरेको छ ।
भाद्र २१ गते दिउँसो २ बजे, नेपाल प्रज्ञा–प्रतिष्ठानको सम–प्रेक्षालयमा ‘१२ मई’ रङ्गमञ्चमा उत्रिँदै छ ।
— समीर सिंह



