अश्वघोषका महाकाव्यमा दर्शन र मानव चेतनाको रूपान्तरणबारे विमर्श

काठमाडौँ । डा. कौशिला रिसालद्वारा लिखित ‘अश्वघोषविरचित महाकाव्यहरूको दार्शनिक अध्ययन’ शोधकृतिमाथि विमर्श कार्यक्रम असोज १७ गते मदर ब्याङ्केट, खरिबोटमा सम्पन्न भएको छ। ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा प्राज्ञ विष्णु प्रभात र प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष समीर सिंहले कृतिमाथि समीक्षात्मक धारणा राख्नुभएको थियो।
अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालको अध्यक्षता तथा सिर्जना डबलीका महासचिव भीष्म जोशीको सञ्चालनमा भएको कार्यक्रममा कृतिका लेखक डा. कौशिला रिसालले शोधकृतिको विषयवस्तु, अनुसन्धानको उद्देश्य र निष्कर्षबारे प्रकाश पार्नुभएको थियो।
विमर्शका क्रममा वक्ताहरूले अश्वघोषका दुई प्रमुख महाकाव्य ‘बुद्धचरित’ र ‘सौन्दरनन्द’ लाई केवल बौद्ध धार्मिक आख्यानका रूपमा मात्र नभई दर्शन, साहित्य र मानव जीवनका गहिरा प्रश्नसँग जोडिएका कृतिका रूपमा चर्चा गर्नुभएको थियो। कृतिले अश्वघोषको काव्यमा दुःख, तृष्णा, उपादान, अनित्यत्व, अनात्मवाद, प्रतीत्यसमुत्पाद, ध्यान, समाधि, प्रज्ञा र निर्वाण जस्ता बौद्ध दार्शनिक अवधारणाहरू कसरी काव्यात्मक रूपमा प्रस्तुत भएका छन् भन्ने विषयलाई केन्द्रमा राखेको छ।

‘बुद्धचरित’मा सिद्धार्थको राजकीय जीवनदेखि वैराग्य, साधना र बुद्धत्वसम्मको यात्रा तथा ‘सौन्दरनन्द’मा नन्दको मोह, आशक्ति, मानसिक द्वन्द्व, वैराग्य र आध्यात्मिक रूपान्तरणलाई दार्शनिक दृष्टिले विश्लेषण गरिएको छ। यस अर्थमा शोधले दर्शनलाई काव्यमाथि बाहिरबाट आरोपित गर्नेभन्दा पात्रहरूको जीवन–अनुभूति, चरित्र विकास र कथानकभित्रै दार्शनिक चेतनाको खोजी गरेको देखिन्छ।
वक्ताहरूले शोधकृतिको अर्को महत्त्वपूर्ण पक्षका रूपमा यसको अन्तरविषयक प्रकृति औँल्याउनुभएको थियो। साहित्य, दर्शन, धर्म, इतिहास र मनोविज्ञानलाई जोडेर गरिएको अध्ययनले अश्वघोषलाई केवल बौद्ध कविका रूपमा नभई दर्शनलाई काव्यात्मक अनुभवमा रूपान्तरण गर्ने चिन्तक–कविका रूपमा बुझ्न सहयोग गर्ने धारणा व्यक्त गरिएको थियो। शोधकृतिको मौलिकता विषयगत, अन्तरविषयक र व्याख्यात्मक तीन तहमा देखिने निष्कर्षसमेत विमर्शमा प्रस्तुत गरिएको थियो।
विमर्शमा कृतिका केही सम्भावित विस्तारका क्षेत्रबारे समेत चर्चा भएको थियो। विशेषतः अश्वघोषका काव्यमा काव्यशास्त्रीय पक्ष, नारी पात्रको दृष्टिबाट ‘सौन्दरनन्द’को पुनर्पाठ, सामाजिक दर्शन, सौन्दर्यशास्त्र तथा आधुनिक अस्तित्ववादी चिन्तनसँगको तुलनात्मक अध्ययनलाई आगामी अनुसन्धानका सम्भावित क्षेत्रका रूपमा औँल्याइएको छ।
कार्यक्रममा वक्ताद्वयले धारणा राखिसकेपछि डा. चूडा ढकाल, केशव नेपाल, जगत्प्रसाद रेग्मी, ईश्वरचन्द्र बानियाँ, इमानसिंह गुरुङलगायतले पूरक टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय सभाका सदस्य माननीय तुलप्रसाद विकको समेत आतिथ्य रहेको थियो।
विमर्शको निष्कर्षमा ‘अश्वघोषविरचित महाकाव्यहरूको दार्शनिक अध्ययन’ लाई अश्वघोषको दार्शनिक व्यक्तित्व, ‘बुद्धचरित’ र ‘सौन्दरनन्द’को वैचारिक संरचना तथा साहित्य र दर्शनको अन्तरसम्बन्ध बुझ्नका लागि महत्त्वपूर्ण अनुसन्धानात्मक आधारका रूपमा प्रस्तुत गरिएको थियो।
-समीर सिंह



