अखिल नेपाल बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला सम्पन्न

काठमाडौँ । नेपालको बौद्धिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अखिल नेपाल बुद्धिजीवी सङ्घको राष्ट्रिय भेला श्रावण २९ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। सङ्घका अध्यक्ष प्रा.डा. श्रीधर गौतमको अध्यक्षतामा सम्पन्न भेलामा समसामयिक राजनीतिक तथा सामाजिक परिस्थिति र आगामी कार्य योजनाका विषयमा बृहत् छलफल भएको थियो।
अखिल नेपाल महिला सङ्घकी महासचिव शकुन्तला रानाको क्यान्सर रोगका कारण भएको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भेलाको सुरुवात भएको थियो।
भेलालाई विभिन्न जनवर्गीय तथा सामाजिक–सांस्कृतिक सङ्घसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएका थिए। शुभकामना दिनेहरूमा प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापा मगर, युवक सङ्घका केन्द्रीय सदस्य कमल पौडेल, रक्तिम सांस्कृतिक अभियानका दीप गोले, सिर्जना डबलीका उपाध्यक्ष जगत् प्रसाद रेग्मी, मूल प्रवाह एकता समाजका धर्मराज शर्मा तथा साउदी अरब नेपाली एकता समाजका खुमीराम भण्डारी लगायत रहेका थिए।
भेलाले सङ्घको पुरानो समिति विघटन गरी प्रा.डा. श्रीधर गौतमको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ। आयोजक समितिको सचिवालयमा समीर सिंह, भोला ढकाल, भरतमणि भण्डारी, जीवनारायण खनाल, जगत् प्रसाद रेग्मी, लीलाबहादुर केसी, विदुर मल्ल र तारामणि न्यौपाने रहेका छन्।
त्यसै गरी आयोजक समितिका सदस्यहरूमा काजी गाउँले श्रेष्ठ, रामदेव पाण्डे, कमला थापा, सिद्धिमान जिसी, केशवराज खनाल, दुर्गा खरेल, वैरागी जेठा, भानुभक्त भारती, राजेन्द्र ढुङ्गाना, कमलप्रसाद घिमिरे, डा. खेम कोइराला, डा. मनबहादुर खत्री, उमा खनाल, बाबुराम आचार्य, लोकराज भुसाल र रविमोहन ढकाल रहेका छन्।
नवनिर्वाचित आयोजक समितिले तत्काल बैठक बसी राष्ट्रिय सम्मेलनको मिति, स्थान तथा प्रकाशनहरूबारे आवश्यक योजना निर्माण गर्ने निर्णय गरेको छ।
राष्ट्रिय भेलाको सञ्चालन समीर सिंहले गरेका थिए भने भोला ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
भेलाले राष्ट्रिय सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्दै नेपालको बौद्धिक आन्दोलनलाई थप सशक्त बनाउने दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।


