प्रगतिशील दृष्टिकोणमा चाडपर्व: परम्पराको संरक्षण होइन, समयानुकूल रूपान्तरणमा जोड

 

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपाल वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा ‘विचार चौतारी–८९’ सम्पन्न भएको छ। असोज १८ गते त्रिचन्द्र कलेजमा सम्पन्न अन्तरक्रियामा ‘प्रगतिशील दृष्टिकोणमा हाम्रा चाडपर्वहरू’ विषयमा चाडपर्वको ऐतिहासिक विकास, सामाजिक संरचना, वर्गीय तथा लैङ्गिक सम्बन्ध, अन्धविश्वास, उपभोक्तावाद र सांस्कृतिक रूपान्तरणका विषयमा गम्भीर छलफल भएको हो।

प्रगतिवादी साहित्यकारद्वय श्याम श्रेष्ठ र नर्मदेश्वरी सत्याल प्रमुख वक्ता रहेको कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक सङ्घकी उपाध्यक्ष डा. अमृता शर्माले गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण वैचारिक विमर्श तथा परिसंवाद विभागका संयोजक समीर सिंहले गर्नुभएको थियो।

कार्यक्रमको सुरुवातमा विभागीय संयोजक समीर सिंहले चाडपर्वलाई केवल धार्मिक वा सांस्कृतिक अभ्यासका रूपमा नभई सामाजिक–ऐतिहासिक विकासक्रम, उत्पादन प्रणाली, वर्गीय सम्बन्ध, लैङ्गिक विभेद, बजारवाद र बदलिँदो सामाजिक चेतनासँग जोडेर हेर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो।

उहाँले हाम्रा चाडपर्वहरू कुन सामाजिक–ऐतिहासिक परिस्थितिमा विकसित भए, प्रकृति, कृषि, उत्पादन र सामुदायिक जीवनसँग तिनको सम्बन्ध कस्तो रह्यो, चाडपर्वभित्र रहेका सामाजिक विभेद र समावेशिताका प्रश्नलाई कसरी हेर्ने भन्ने विषयलाई छलफलको आधार बनाउनुभयो।

 

त्यसै गरी चाडपर्व मनाउने क्रममा श्रमजीवी र सम्पन्न वर्गबिच देखिने अन्तर, चाडपर्व उपभोग र प्रदर्शनको माध्यम बन्दै गएको अवस्था, आर्थिक बोझ र सामाजिक प्रतिस्पर्धा, लैङ्गिक असमानता तथा वैज्ञानिक चेतना र सांस्कृतिक परम्पराबिचको सम्बन्धलाई पनि अवधारणाको  विषय बनाइएको थियो।

चाडपर्वभित्र रहेका अन्धविश्वास, कुरीति तथा हानिकारक प्रथाको अन्त्य, चाडपर्वलाई मानवीय र सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने सम्भावना, बजार तथा विज्ञापनको प्रभाव, उपभोक्तावाद, स्थानीय उत्पादन र आत्मनिर्भर अर्थतन्त्रसँग चाडपर्वलाई जोड्ने विषय पनि अवधारणाका महत्त्वपूर्ण एजेन्डा थिए।

त्यस्तै प्लास्टिक, रसायन, अत्यधिक ध्वनि लगायतका कारण चाडपर्वमा उत्पन्न हुने पर्यावरणीय समस्या, सामाजिक सञ्जालले चाडपर्वको स्वरूपमा पारेको प्रभाव, नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उपयुक्त तरिका, नेपालका विविध संस्कृतिप्रति समान सम्मान तथा परम्परा संरक्षण र रूपान्तरणबिचको सन्तुलनबारे समेत विभागका संयोजक सिंहले अवधारणाको विषय बनाई सहभागीहरूबिच छलफल भएको थियो।

‘कुरीति हटाउने अभियान प्रगतिशीलबाटै सुरु हुनुपर्छ’

कार्यक्रममा धारणा राख्दै प्रगतिवादी साहित्यकार श्याम श्रेष्ठले चाडपर्वमा रहेका कुरीति र अन्धविश्वास हटाउने अभियान प्रगतिशील शक्तिहरूबाटै सुरु हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले चाडपर्वहरू तत्कालीन उत्पादन प्रणाली र सामाजिक संरचनाका आधारमा विकसित भएको उल्लेख गर्दै अहिले अर्थतन्त्र, उत्पादन प्रणाली र सामाजिक सम्बन्धमा व्यापक परिवर्तन आइसकेकाले चाडपर्व मनाउने परम्परालाई पनि समयानुकूल नयाँ ढङ्गले अभ्यास गर्नुपर्ने बताउनुभयो।

श्रेष्ठले प्रारम्भिक वैदिक साहित्यदेखि उपनिषद्कालसम्म धार्मिक चिन्तनको विकासक्रमबारे चर्चा गर्दै पछिल्ला समयमा विभिन्न धार्मिक व्याख्या र सामाजिक अभ्यासमार्फत अन्धविश्वास तथा कुरीतिले स्थान पाएको धारणा राख्नुभयो।

उहाँले भाइटिका, बुवा–आमाको मुख हेर्ने, म्हः पूजा लगायतका नेपाली सांस्कृतिक अभ्यासमा सकारात्मक मानवीय पक्षहरू रहेको उल्लेख गर्दै तिनलाई जस्ताको तस्तै दोहोर्‍याउनेभन्दा सकारात्मक पक्षलाई संरक्षण गर्दै समयानुकूल सुधार र पुनर्व्याख्या गर्नुपर्ने बताउनुभयो।

‘भनाइ र गराइबिचको खाडल हटाउनुपर्छ’

अर्की प्रमुख वक्ता प्रगतिवादी साहित्यकार नर्मदेश्वरी सत्यालले प्रगतिशील लेखक सङ्घजस्तो साझा संस्थाले चाडपर्वमा रहेका विकृति, अन्धविश्वास र विभेदविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो।

उहाँले प्रगतिशील विचार राख्नेहरूकै भनाइ र गराइबिच ठुलो खाडल रहेको उल्लेख गर्दै चाडपर्वका अवसरमा देखिने लैङ्गिक विभेद गम्भीर विषय भएको बताउनुभयो। यस्तो विभेदलाई निरन्तरता दिन सामन्ती चिन्तन अझै सक्रिय रहेको उहाँको भनाइ थियो।

सत्यालले चाडपर्वलाई केवल आलोचना गर्ने विषयका रूपमा नभई समाज रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने र व्यवहारमै परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो।

टिप्पणीकारहरूले उठाए विविध प्रश्न

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष डा. मधुसूदन गिरी, ईश्वरचन्द ज्ञवाली, गिरीप्रसाद बुढा, गोविन्द शृङ्खला, शोभा दुलाल, धनकुमारी न्यौपाने, नमुना शर्मा, शालिग्राम तिमिल्सेना, शान्ता मानवी, समष्टि बुढा, उषा तितिक्षु, सरिता घिमिरे, केदारप्रसाद आचार्य, भक्ति लामिछाने लगायतले टिप्पणी तथा धारणा राख्नुभएको थियो।

सहभागीहरूले चाडपर्वको सामाजिक उपयोगिता, धार्मिक विश्वास, सांस्कृतिक निरन्तरता, वर्गीय तथा लैङ्गिक विभेद, आर्थिक बोझ, बजारवाद र नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरणलगायतका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

‘राम्रो पक्षलाई निरन्तरता, विभेद र रूढिलाई रूपान्तरण’

कार्यक्रमको अन्त्यमा सङ्घका कोषाध्यक्ष डा. कृष्ण सुवेदी भारद्वाजले छलफलको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो।

निष्कर्षमा नेपाली समाजमा प्रचलित चाडपर्वहरू ऐतिहासिक सामाजिक संरचना र तत्कालीन उत्पादन सम्बन्धसँग जोडिएर विकास भएको उल्लेख गर्दै चाडपर्वका नाममा रूढि र विभेदलाई निरन्तरता दिनु उचित नहुने धारणा प्रस्तुत गरिएको छ।

निष्कर्षका मुख्य बुँदामा सामाजिक तथा मानवीय दृष्टिले सान्दर्भिक चाडपर्वलाई निरन्तरता दिने, चाडपर्वमा समावेशीकरणलाई प्राथमिकता दिने, महिला, दलितलगायत समुदायमाथि हुने विभेद अन्त्य गर्ने तथा चाडपर्वका सकारात्मक पक्षलाई संरक्षण गर्दै नकारात्मक पक्षलाई परिवर्तन गर्ने विषय समेटिएका छन्।

त्यस्तै सुधारको सुरुवात आफू, परिवार र समाजबाटै गर्नुपर्ने, पारिवारिक तथा पितृस्मृतिसँग सम्बन्धित कर्महरूलाई समेत नवीन र वैकल्पिक ढङ्गले सञ्चालन गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरिएको थियो।

चाडपर्वबारे बहसको मूल प्रश्न

विचार चौतारी–८९ को छलफलले एउटा महत्त्वपूर्ण प्रश्न अगाडि सारेको छ—चाडपर्वको प्रगतिशील रूपान्तरण भाषण र आलोचनाबाट मात्र सम्भव हुन्छ कि त्यसको सुरुवात आफ्नै व्यवहारबाट गर्न सकिन्छ?

परम्परा आफैँमा स्थिर वस्तु होइन। समाज, उत्पादन प्रणाली, जीवनशैली र चेतनामा आउने परिवर्तनसँगै संस्कृतिका अभ्यासहरू पनि परिवर्तन हुँदै जान्छन्। त्यसैले प्रगतिशील दृष्टिकोणले चाडपर्वको पूर्ण अस्वीकारभन्दा पनि त्यसमा रहेका मानवीय, सामाजिक र सामुदायिक मूल्यको संरक्षण तथा विभेद, अन्धविश्वास, अपव्यय, उपभोक्तावाद र पर्यावरणीय क्षतिको रूपान्तरणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

यस अर्थमा चाडपर्वलाई विगतको निरन्तरता मात्र नभई समानता, सामाजिक सद्भाव, श्रमको सम्मान, मानवीय सम्बन्ध, वैज्ञानिक चेतना र सांस्कृतिक विविधताको सम्मान गर्ने नयाँ सामाजिक संस्कृतिको आधार बनाउने बहस आवश्यक छ।

यही प्रश्न र सम्भावनालाई केन्द्रमा राख्दै सम्पन्न विचार चौतारी–८९ ले चाडपर्वबारे प्रगतिशील बहसलाई केवल वैचारिक तहमा सीमित नराखी आफ्नो परिवार, व्यवहार र समाजबाटै परिवर्तन सुरु गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

– समीर सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *